सुनसरी — सुनसरीको झुम्का कारागारका रहेका ४२ वर्षीय न्यायधीश राईको शंकास्पद तरिकाले मृत्यु भएको छ।
पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङ साकेला गाउँपालिका घर भएका राईको करागारभित्रै मृत्यु भएको हो।
कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाईको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने मृत्तक न्यायधीशका दाई सुभाष राईले माग गरेका छन् । न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतकका भाउजु उर्मिला राईले बताइन ।
झुम्का कारागारका प्रमुख धुव्रराज कोइरालाले कैदी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । स्वास्थ्यमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र उपचारका क्रममा उनको मृत्यु भएको उनको भनाइ छ।
जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको बताइन । पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडान लिएको छ। राइको शव इनरुवा अस्पतालमा राखिएको छ।




















