काठमाडौँ — सडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गरेकी छिन् । कोपिलाको उपचारको लागि रेखाले व्यक्तिगत सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थालेकी हुन् ।
एक साताअघि एक कार्यक्रममा सहभागी भएर भारतको पञ्चकुलातिर फर्किने क्रममा आफैं चढेको कार ब्रेकफेल भई दुर्घटना हुँदा उनी घाइते भएकी थिईन् । ढाडको शल्यक्रिया गरेर स्टिल राखिएकी उनको कम्मरभन्दा मुनिको शरीर चल्दैन । उनीसँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको थियो ।
कोपिलाले दर्जनौं नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गरेकी छन्। रेखाले कोपिलाको ज्यान बचाउन सहयोगको अपील गरेकी छिन् ।
उनले पछिल्लो पटक हिट फिल्म ‘महापुरुष’ मा मदनकृष्ण श्रेष्ठको श्रीमतीको भूमिकामा गरेकी थिइन् । मोरङ सलकपुरकी कोपिला अभिनेत्री रेखा थापाकी दिदी हुन् ।




















