विराटनगर —  आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राती सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रिला मोरङ एफएलाई २-० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । 

उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपबिजेता बनेको घरेलु टिम सांग्रिलाले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरुङ र युसुप थपलियाले गोल गरे । उनीहरूले दुवै गोल अतिरिक्त समयमा गरेका थिए । 

निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबारी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा सांग्रिलाका गोलकिपर विशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३ औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

युसुप थपलियाले प्रहार गरेको कर्नर सांग्रिलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल किलियर गर्न सकेनन् । त्यसपछि बाउन्स भएको बललाई छिरिङले हेड मार्फत सानदार गोल गरी अग्रता दिलाए । 

मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९ औं मिनेटमा युसुप थपलियाले लामो दूरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो । प्लेयर अफ द म्याच मच्छिन्द्रका लकेन लिम्बू घोषित भए । उनले ११ हजार पाए । 

बेस्ट गोलकिपर मच्छिन्द्रका विशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफिन विनोङ घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ  पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी सांग्रिलाका महेन्द्र कार्की घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाए ।

फाइनलमा सांग्रिलाले २५ औं मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।  गोल गर्ने अवसर पाएपनि गोल गर्न नसक्दा सांग्रीलाले पराजय खेप्नुपर्यो ।

हारपछि सांग्रिला मोरङका प्रशिक्षक रानु राना मगरले खेलाडी चोटग्रस्त हुँदा अन्तिम समयमा गोल आत्मसाथ गर्न पुगेको बताए । 

विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले  यो सिजनमा ७ वटा गोल्डकपमा भाग लिएको मध्ये सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले तीन वटा उपाधि जितेको छ । यसअघि केपी ओली कप र वाग्मती गोल्डकपको उपाधि जितिसकेको छ । 

विजेता हुने खेलाडीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।