- ✍️ आचार्य अमृत
नेपालमा आवश्यक/अनावश्यक विभिन्न समारोहहरू भइ नै रहेका हुन्छन् यो वा त्यो नामका । ती समारोहहरूमा सभापतिसँगै एक प्रमुख अतिथि, दर्जनौँ विशिष्ट/विशेष अतिथि र अनेकौँ अतिथि राखिन्छन् । कहिले त कस्तोसम्म पनि देख्न थालियो भने अतिथिबाहेकको मानिस त हलमा नै हुँदैन । यसरी भए जति सबैले समारोहमा कथित सम्मान प्राप्त गर्दछन् । अर्कातिरबाट हेर्दा आज 'अतिथि' शब्द नै अवमूल्यित हुँदै गएको अनुभव हुन थालेको छ । एक जना प्रमुख अतिथि र केही अतिथि भए त पुगिहाल्ने थियो जस्तो लाग्छ मलाई ता । अतिथिको त्यस्तो झुन्डलाई श्रोता/दर्शक मात्र भन्दा पनि उनीहरूको चित्त दुख्ला, कसैले कसैको पनि चित्त दुखाउनु हुँदैन भन्ने त स्थापित मान्यता नै हो ।
'तैँ रानी, मै रानी, को भर्ने कुवाको पानी !' भन्ने त उखानै छ । सबै अतिथिका रूपमा विराजमान भएपछि कसले बोलेको कसले सुन्ने ? किन सुनिरहनुपर्यो र ! उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको भए पो सुन्ने/सुनाउने कुराको महत्त्व हुन्थ्यो र सबैले वक्ताका कुराहरू ध्यान दिएर सुन्थे, रमाइलाका लागि मान्छे भेला गरिएको सभाको के नै पो अर्थ हुन्छ र !
यस्ता सभामा पो देखिन्छ त मोबाइलको करामत । को के बोल्दै छ तिर कुनैको कुनै ध्यान छैन, एकोहोरो मोबाइल सारेको छ, थिचेको छ, बेलाबेलामा फोन गरेको छ, बस् यति नै कर्म हुन्छ त्यहाँ । हुँदा हुँदा सदन चलिरहेका बेलामा समेत पो मोबाइलको चर्तिकला राम्रैसँग देख्न पाइने भयो । विचार-विमर्श गरेर नियमकानुन बनाउनेहरूको त्यो हबिगत देख्ता साह्रै नै कुरीकुरी लागेर आउँछ, तर तिनलाई केही गर्न सकिने होइन ।
सभाबैठकहरूमा मोबाइल हेर्न प्रतिबन्ध लगाउने कसले ? सबैको बानी बिग्रनसम्म बिग्रिसकेकाे छ, कसरी सुधार हुन्छ र !



















