बेलबारी—माेरङकाे बेलबारी नगरपालिकाले कृषकहरूलाई साझेदारीमा मोटर बोर्रिङ सेट वितरण गरेको छ । नगरपालिकाले सोमबार साना सिचाई प्रवर्द्धन कार्यक्रम अन्तरगत कृषकहरूलाई ५५ वटा मोटर बोर्रिङ सेट वितरण गरेको हो ।
नगरपालिकाको अनुसार २५ प्रतिशत कृषकको लागतसहित रु.३१ हजार १ सय प्रति मोटर बोर्रिङ सेटको मूल्य रहेको छ । साढे चार बिघाको दरमा मोटर बोर्रिङ सेट वितरण गरेको बेलबारी नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
शाखाका अनुसार ७५ प्रतिशत नगरपालिकाको लागतमा कृषकहरूलाई २४७.५ बिघा जमिनको लागि १७ लाख १० हजार ५ सय रुपैयाँ बराबरको मोटर बोर्रिङ सेट वितरण भएको हो ।
नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले कृषकहरूलाई मोटर बोर्रिङ वितरण गरेका छन् । साना सिचाई प्रवर्द्धन कार्यक्रम अन्तरगतको मोटर बोर्रिङ वितरणसँगै यस आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा तरकारीको बिउँ, धानको बिउँ, मकैको बिउ वितरण र आकस्मिक बाली संरक्षण अन्तरगत निःशुल्क विषादी, कृषि यान्त्रीकरण अन्तरगत मकै रोप्ने मेसिन, विद्युतीय विषादी छर्ने उपकरण पनि वितरण गरेको बेलबारी नगरपालिकाका कृषि शाखाका प्रमुख सन्तोष कँडेलले बताए ।



















