विराटनगर—कोशी प्रदेश सरकारले कृषिमा व्यवसायीकरण प्रवर्द्धन गर्ने उद्देश्यले कृषि कर्जा व्याज अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ।

कार्यक्रमले कृषिको व्यावसायिक उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण तथा कृषि उपजको मूल्य अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। किसानहरूले बैङ्क, वित्तीय तथा सहकारी संस्थाबाट लिएको कृषि कर्जाको व्याजमा ६–८ प्रतिशत अनुदान पाउने व्यवस्था गरिएको छ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयको माध्यमबाट सञ्चालनमा आएको यस कार्यक्रमअन्तर्गत, व्यावसायिक कृषकलाई ७ लाखदेखि ५० लाखसम्म, र सहकारी मार्फत कृषि उपज मूल्य अभिवृद्धि गर्ने संस्थालाई ३ करोडसम्मको ऋणमा व्याज अनुदान प्रदान गरिनेछ। चालु आर्थिक वर्षका लागि मन्त्रालयले १४ करोड रुपैयाँ विनियोजन गरेको छ।

मोरङ जिल्लामा दुई वर्षअघि सुरु भएको यस कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा ३५ जना किसानले कृषि कर्जाको व्याजमा अनुदान पाएका थिए भने चालु आर्थिक वर्षमा हालसम्म ११ जना किसान सिफारिस भइसकेका छन्। कृषि ज्ञान केन्द्र मोरङका माटो विज्ञ महेश सापकोटा ले जानकारी दिनुभयो।

तरकारी, च्याउ, फलफूल खेतीसँगै मौरी पालन व्यवसाय सञ्चालन गर्ने किसानका लागि पनि यस अनुदान कार्यक्रमले सुविधा प्रदान गरेको छ। कृषि ज्ञान केन्द्रले हालसम्म ३ करोड ४० लाख रुपैयाँ बराबरको व्याज अनुदानका लागि सिफारिस गरेको छ।

विराटनगर–७ स्थित ईश्वर साना किसान सहकारी संस्था का अध्यक्ष बलबहादुर घिमिरे का अनुसार ३१ जना सदस्य किसानले वित्तीय संघ–संस्था मार्फत ५–७ लाख रुपैयाँसम्म ऋण लिएर तरकारी खेती गर्दै आएका छन्।