फुङ्लिङ — ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात बारीमा पहरा बस्न बाध्य भएका छन्। पाक्ने बेलामा बँदेललगायतका वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहेनत संकटमा परेको हो।

स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रमा करिब २५–३० घरपरिवार हरेक वर्ष वन्यजन्तुको आक्रमणबाट पीडित हुन्छन्। “पहिले भालुले दुःख दिने गथ्र्यो, अहिले बँदेलको आक्रमण निकै बढेको छ,” उनले बताए। उनका अनुसार हरेक घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली एकै रातमै सखाप हुने गरेको छ।

मकै पाक्ने समयमा किसान रातभर बारीमै डेरा जमाउने गरेका छन्। बानियाँ भन्छन्, “एउटा माउ र दुई बच्चासहित तीनवटा बँदेल हरेक रात आउँछन्। मकै पूरै पाक्न नपाउँदै खाइदिन्छन्। हामीले के खानु?” उनका अनुसार बँदेलले मकैमात्र नभई आलु, सिमी, पिँडालु र अन्य तरकारीमा समेत क्षति पुर्याउने गर्छ।

निरन्तर क्षतिका कारण केही किसान गाउँ छाडेर अन्यत्र बसाइँ सरेका छन् भने केहीले बारी बाँझै छाडेर अन्य पेसा रोजेका छन्। तर स्थानीय तह वा सरोकारवाला निकायले अहिलेसम्म कुनै ठोस पहल नगरेको किसानको गुनासो छ।

सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष विष्णुकुमारी (बन्दना) कडरियाले हालसम्म बाली क्षतिको औपचारिक निवेदन नआएको बताउँदै, “निवेदन आएपछि कार्यपालिकामा निर्णय गरी केही सहुलियत दिने तयारी गर्छौं,” भनिन्।


यता डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पारवानका अनुसार २०८० सालको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका’मा १६ प्रजातिका जनावरबाट क्षति भएमा मात्र राहत दिने व्यवस्था छ। “बँदेल त्यसमध्ये नपर्ने भएकाले किसानलाई राहत दिन कानुनी आधार छैन,” उनले स्पष्ट पारे।