अधिक मदिरासेवन गरेको एक व्यक्ति साँझ ७ बजेतिर नयाँ बानेश्वर चोकमा बरबराउँदै थियो । उसले नजिकै भाडाको एउटा ट्याक्सी अडिइरहेको देख्यो । उसले जिब्रो लटपट्याउँदै भन्यो, "खोइ यो ट्याक्सीको ड्राइभर ! मलाई तुरुन्त नयाँ बानेश्वर पुर्या त ।" उसको कुरा सुनेर नजिकै उभिएको चालकले छक्क पर्दै भन्यो, "यही हो त नयाँ बानेश्वर, अनि फेरि अर्को कुन नयाँ बानेश्वर जाने दाइ ?" चालकको कुरा सुनेर उसले मुरमुरिँदै भन्यो, "अँ, मलाई थाहा छैन र यो ठाउँ कुन हो भनेर ! मैले भनिहालेँ मलाई तुरुन्तै नयाँ बानेश्वर पुर्या भनेर ।" अब चालकले सोच्यो, "यस्ता जँड्याहासँग के तर्कवितर्क गरिरहनु, बरु चढ् भन्नुपर्यो ।" उसले भन्यो, "के भन्दा रहेछौ भनेर पो भनेको त, नरिसाउन । ल चढ, म नयाँ बानेश्वर पुर्याइदिन्छु ।" अब त्यो मानिस खुसी हुँदै गाडीमा चढ्यो । ड्राइभरले यसो स्टेयरिङ घुमाएर २/३ पटक गाडी घुमायो र भन्यो, "ल, नयाँ बानेश्वर आइपुग्यो, उत्रिनुहोस् ।" गाडीबाट झर्दै उसले भन्यो, "मान्छेले यसरी वचनको पक्का हुनुपर्छ । कति भयो भाडा ?" भाडा पर्दैन भन्दा फेरि खनिएला आफैँतिर भन्ने ठानेर ड्राइभरले भन्यो, ३०० रुपियाँ ।" "यस्तो राति भइसक्ता पनि कति सस्तो भाडा भनेको ! यसरी भाडा छोड्न थाल्यौ भने तिमी डुब्छौ । लु ल्यौ" भन्दै ५०० को नोट दिएर फिर्ता लिने कुनै चेष्टा नै नगरी ऊ तुरुन्तै भिडमा मिसियो ।
प्रस्तुति : ✍️ आचार्य अमृत




















