विराटनगर —  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरेको हात्तीमैत्री पदयात्राका बारे  कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिले सोधेका प्रश्नको जवाफ दिन पर्यटन, वन तथा वातावरण मन्त्रालयले आलटाल गरेको पाइएको छ ।

गएको फागुन ९ देखि १७ गतेसम्म मुख्यमन्त्री केदार कार्कीले गरेको हात्तीमैत्री पदयात्राका बारेमा लेखा समितिले पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पाँच बुँदे प्रश्न सोधेर  लिखित जवाफ मागेपनि मन्त्रालयले जवाफ नदिएको हो । मन्त्रालयले जवाफ नदिएपछि पुनः अर्को पत्र लेखिएको सार्वजनिक लेखा समितिका समितिका जेष्ठ सदस्य (सभापति) किशोर चन्द्र दुलालले बताए ।

यो पनि — मुख्यमन्त्रीको पैदलयात्रा : हात्ती आयो हात्ती आयो फुस्स

लेखा समितिको चैत १४ गते बसेको बैठकले निर्णय गरेर जवाफ मागेको थियो । ‘हामीले सात दिनभित्रमा लिखित जवाफ दिन भनेका थियौं,’ सभापति किशोरचन्द्र दुलाले भने ‘जवाफ नआएपछि पुनः अर्को पत्र पठाएका छौं ।’

 लेखा समितिले उक्त कार्यक्रममा कुन शीर्षकबाट कति रकम खर्च गरियो भन्ने प्रश्न उठाएको थियो । समितिले कार्यक्रममा रकम खर्च गर्दा के कस्ता कानुनी र लेखाका प्रक्रिया अवलम्बन गरियो ? कार्यक्रममा प्रदेश संचित कोषबाट खर्च गर्दा भविष्यमा बेरुजू नहुने आधार के के छन् ? र कार्यक्रमबाट हात्ती र मानवबीचको द्वन्द्व न्युनीकरणका लागि ठोस र मूर्त रुपमा के परिणाम प्राप्त हुने उद्देश्य राखिएको थियो तथा पूरा हुने आधार के के छन् ? भनेर सोधेको छ ।

मुख्यमन्त्री कार्कीसहितको टोलीले झापादेखि उदयपुरसम्मका २४ स्थानीय तह, ५६ सामुदायिक र चार साझेदारी वनक्षेत्र हुँदै २४३ किलोमिटर पैदल यात्रा गरेका थिए । टोलीमा कार्कीसहित निर्वतमान पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती, मन्त्रालयका सचिव विशाल घिमिरे, हात्ती विज्ञहरुसहित दैनिक ८० जना भन्दा बढी सहभागी थिए । पदयात्राले मानव हात्तीबीचको द्वन्द्वको कारण पहिचान र समस्या निराकरणमा केन्द्रित रहेको जनाइएको थियो ।