एजेन्सी — ओमानमा आइतबारदेखि सुरू भएको वर्षाले मंगलबारसम्ममा युएईलाई समेत चपेटामा पारेको छ । सन् १९४९ देखि वर्षा सम्बन्धी तथ्यांक राख्न थालिएको युएईमा अहिलेसम्म यति वर्षा मापन गरिएको थिएन। समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार युएईमा वर्षमा औसत १२५ देखि १५० मिलिमिटर पानी पर्छ। तर अल ऐन सहरमा भने २४ घण्टामै २५४ मिलिमिटर वर्षा भयो। 

औसतमा डेढ वर्षमा हुने वर्षा केही घण्टा भित्रमै यस्तो ठुलो वर्षा भएको हो । भारी वर्षाका कारण ओमानमा कम्तीमा २० जनाको मृत्यु भयो भने तुलनात्मक रूपमा विकसित युएईमा पनि एक जनाको मृत्यु भएको छ ।

पानी खासै नपर्ने भएकाले निकासमा धेरै ध्यान नदिइकन बनाइएका सडक भारी वर्षापछि खोला बनेर सहरहरू अस्तव्यस्त भएका छन् । यस्तै विश्वको दोस्रो सबभन्दा व्यस्त दुबई इन्टरनेसनल एअरपोर्टमा उडान प्रभावित भएका छन् ।

मरूभूमि भएको सुक्खा देशमा त्यत्रो धेरै वर्षा किन भयो?

युएईले पानी पार्न कृत्रिम हस्तक्षेप ‘क्लाउड सिडिङ’ (बादल बनाउने) गर्ने गरेकाले भारी वर्षा भएको कतिले आकलन गरेका छन्। तर क्लाउड सिडिङले त्यत्रो वर्षा हुनै नसक्ने मौसमविदहरूले दाबी गरेका छन्।

हावामा रहेको ओस पानीको थोपा बन्नका लागि केही सतह चाहिन्छ। बादलमा रहेका न्युक्लिआइ भनिने मसिना पानी वा बरफका थोपा ठूलो भएर पानी पर्छ। धुलो वा फोहोरका कणको सतहमा प्राकृतिक रूपमा पानीको थोपा बन्छन्। क्लाउड सिडिङ गर्दा सिल्भर आयोडाइड वा अरू वस्तु विमानबाट बादलमा छोडिन्छ। यसको सतहमा बादलमा रहेको ओस भेला भएर पानीको थोपा बन्छ र वर्षा हुन्छ।

पानी पर्दा क्लाउड सिडिङका कारण परेको हो वा आफैं परेको हो ठोकुवासाथ भन्न नमिले पनि क्लाउड सिडिङले पानीको थोपा बन्न मद्दत गरेर पानी पर्न केही सहयोग गर्छ भन्ने मानिन्छ। तर पानी पर्न चाहिने मुख्य वस्तु भनेको ओस हो। एसोसिएटेड प्रेसका अनुसार क्लाउड सिडिङले ओस बनाउने नभएर वायुमण्डलमा पहिल्यै रहेको ओसलाई पानीको थोपामा परिणत गर्ने मात्रै हो। क्लाउड सिडिङका कारणले त्यत्रो भारी वर्षा हुनै सक्दैन।

सिएनएनका अनुसार यसरी पानी पर्ने  ‘वेदर सिस्टम’ बन्दैछ भनेर केही दिन अगाडिदेखि नै पूर्वानुमान गरिएकाले पनि क्लाउड सिडिङका कारणले त्यत्रो वर्षा भएको होइन।

रोएटर्सका अनुसार माथिल्लो वायुमण्डलमा न्यून चापीय प्रणाली र जमिनको सतहमा पनि न्यून चाप भएका कारण बादललाई निचोरेर त्यत्रो पानी परेको हो। जमिनको सतहको उच्च तापक्रम र माथि वायुमण्डलको न्यून तापक्रमले त्यसलाई झन् बढायो।

वैज्ञानिकहरूले युएईमा यो भारी वर्षा क्लाउड सिडिङका भन्दा जलवायु परिवर्तनका कारण भएको भनेका छन्। पछिल्ला वर्षहरूमा पृथ्वीमा उच्च तापक्रमको कीर्तिमान र भारी वर्षा धेरै भएको भनेर औंल्याएका छन्। तापक्रम बढ्दै जाँदा हावा पनि तात्छ। तातो वायुमण्डलले धेरै ओस बोक्न सक्छ र धेरै ओसका कारण धेरै वर्षा हुन्छ भन्ने सामान्य विज्ञानले यसलाई बुझ्न सकिने उनीहरू बताउँछन्। साथै विश्वभर तापक्रम अझ बढ्दै जाँदा यस्तो भारी वर्षा भइरहने भनेर सचेत गराएका छन्  ।