काठमाडौं — युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ ।
पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ । युएईमा दुई दिनदेखि भएको भिषण वर्षाका कारण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ ।
युएईमा अहिले भइरहेको बर्षा ७५ वर्ष यताकै ठुलो भएको बताइएको छ । भारी वर्षाका कारण ओमानमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
पानी खासै नपर्ने भएकाले निकासमा धेरै ध्यान नदिइकन बनाइएका सडक भारी वर्षापछि खोला बनेर शहरहरू अस्तव्यस्त भएका छन् । यस्तै विश्वको दोस्रो सबभन्दा व्यस्त दुबई इन्टरनेसनल एअरपोर्टमा उडान प्रभावित भएका छन् ।



















