मोरङको रतुवामाई नगरपालिकाले नगरकै कोषबाट कृषकहरुलाई अनुदानमा वितरण गर्न खरिद गरेको खाद्य सामग्री (चामल, दाल, तेल, नुन) र कृषि शाखाबाट कृषकलाई अनुदानमा वितरण गर्न खरिद गरेको मल, बिउबिजन गुपचुपमै नष्ट गरेको खुलेको छ ।
नगरपालिका र कर्मचारीको लापर्वाहीका कारण काम नलाग्ने अवस्थामा पुगेपछि ती सामग्री नष्ट गरिएको हो ।
कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री गणेश उप्रेतीले एक बिज्ञप्ति नै निकालेर सो घटना सार्वजनिक गर्दै रतुवामाई घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।
मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै सांसद उप्रेतीले रतुवामाई नगरपालिकाले विभिन्न समयमा खरिद गरेको र विभिन्न दातृ संघसंस्थाबाट प्राप्त खाद्यान्नसहित मल र बिउविजन नगरवासीलाई समयमा वितरण नगरी नष्ट गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उप्रेतीले खरिद गरिएको सामाग्री वितरण नगरी गोदाममा थन्क्याउनु र काम नलाग्ने अवस्थामा पुगेपछि रातारात नष्ट गर्नुले खरिद प्रक्रियामाथि नै प्रश्न खडा भएको बताएका छन् । उनले उक्त प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न नगरपालिका नेतृत्वलाई आग्रह गर्दै आवश्यक छानविनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
बिज्ञप्तिमा भनिएको छ - ‘रतुवामाई नगरपालिकाको आर्थिक कोषबाट राहत प्रदान गर्नका लागि खरिद गरेको खाद्य सामग्री (चामल, दाल, तेल, नुन) र नगरपालिकाको कृषि शाखाबाट कृषकलाई अनुदानमा वितरण गर्न खरिद गरेको मल, बिउबिजन नगरपालिकाकै लापर्वाहीबाट काम नलाग्ने अवस्थामा पुगेपछि गुपचुप रुपमा नष्ट गरिएको घटनाले आम नगरवासीलाई चिन्तित र आक्रोशित बनाएको छ ।’
नगरपालिकाका जनप्रतिनिधि र जिम्मेवारी पदाधिकारीहरुको लापरवाहीको कारण लाखौं मूल्य बराबरको सामग्री काम नलाग्ने अवस्थामा पुग्नु र रातारात त्यसलाई खोलाको बगरमा लगेर गाडिएको विषय शंकास्पद भएको उप्रेतीले जनाएका छन् ।
उता रतुवामाइ नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंहले भने कोरोनाको बेला खरिद गरिएका केही खाद्य सामग्रीहरु काम नलाग्ने अबस्थामा भएपनि कतिपय अराजक तत्वहरुले अनावश्यक हल्ला मच्चाएको बताए ।
अघिल्लो कार्यकालमा तत्कालीन मेयरले बितरण गर्न नदिएको भनी कर्मचारीहरुले राखेका केही खाद्य सामग्री गत माघमा मेयर लगायतका जनप्रतिनिधि थाहा नदिई कर्मचारीले नै डम्पिङ साइटमा लगी गाडेको थाहा पाएपछि छानविनका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्राचार गरिएको मेयर सिंहले बताए ।



















