पथरी —  मोरङको पथरीशनिश्चरेमा आगामी जेठ १२ गतेदेखि प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण  गोल्डकप खुल्ला नकआउट -२०८१   हुने भएको छ।

 आयोजक  पथरी -११ फुटबल क्लब, पथरीशनिश्चरेले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ २१ गतेसम्म  १० दिन सो प्रतियोगिता संचालन हुने जनाएको हो।

कुल ४० लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको सो  प्रतियोगितामा भारत (सिक्किम) को एउटा टिमसहित नेपालका 'ए' डिभिजनका विभिन्न फुटबल क्लबहरूले सहभागिता जनाउने खेल संयोजक सुमन विकले बताए।

प्रतियोगिताको विजेता र  उपविजेता टिमलाई क्रमशः ४ लाख रुपैयाँ र २ लाख  रुपैयाँ तथा विधागत पुरस्कार २ लाख ५० हजार रुपैयाँ नगद सहित मेडल तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

 हरेक दिन प्रतियोगिताको म्यान अफ दि म्याच घोषित खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ सहित मेडल- ट्रफी प्रदान गरिने छ। पथरीशनिश्चरे नगरपालिकाको कार्यलय, छिमेकी पालिकाहरू,  देश विदेशमा रहेका खेलप्रेमी नेपाली दाजुभाईहरू, पथरी शनिश्चरे नगरक्षेत्रमा रहेका विद्यालय र व्यापारिक संघ संस्थाहरु लगायतको आर्थिक सहायतामा प्रतियोगिताको आयोजना गरिएको उक्त अवसरमा आयोजक पथरी ११ फुटबल क्लबका संयोजक सुमन विकले जानकारी दिए।

यूवा पुस्तालाई दुर्व्यसनबाट जोगाउँदै खेलकुद तर्फ आकर्षित गर्ने , स्वस्थ्य, सवल तथा नेतृत्वशील जनशक्ति तयार पार्ने र पथरीशनिश्चरे नगरका खेलाडीहरूलाई व्यवसायिक बनाउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको पथरी ११ का  सचिव मणि लुम्फुवा लिम्बुले बताए ।