काठमाडौँ —चौधरी ग्रुपले उत्पादन गर्ने वाइवाइ चाउचाउ खान अयोग्य रहेकोे भेटिएको छ । काठमाडौको एक प्रयोगशालामा गरिएको परिक्षणमा वाइवाइ चाउचाउ अखाद्य रहेकोे प्रमाणित भएको हो । कम गुणस्तरका चाउचाउ भेटिएपछि काठमाडौ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले चौधरी ग्रुपलाइ २ लाख रुपैयाँ जरिवाना गराएको छ ।  वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीलाई ७ दिनभित्र बुझाउन भनिएको छ ।

 बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो ।

महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरिएको थियो  । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं. एएल वाइ एल दुई तीन (AL/YL23) का चाउचाउ जफत गरेपछि कम्पनी र उत्पादनको विवरण गोप्य राखी १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो  । 

Untitled-6 69प्रयोगशालाको रिपोर्ट आउनु अघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले, निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन दिएका थिए । नमूनाको प्रयोगशाला परीक्षणमा खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा भेटिएका थिए ।

रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १ mg KOH/g Oil हुनुपर्नेमा १३.९३४ mg KOH/g Oil देखिएको छ । जसले क्यान्सरजस्ता रोगको खतरा हुने प्राबिधिकहरुले बताएका छन् ।

चाउचाउको विक्री गर्दै आएको एस. के. इन्टरप्राइजेजले महानगरपालिकालाई पत्र लेख्दै यस व्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ विक्री नगर्ने प्रतिवद्धता पत्र पठाएको छ । यस्ता गुणस्तर नभएका खाद्य बस्तुको जिम्मेवारी उत्पादक कम्पनी सी.जी. फुड नेपाल हुने पत्रमा उल्लेख गरिएको छ ।