विराटनगर  — रंगेली नगरपालिकाले करिब डेढ महिनाअघि  आगलागीमा परेर घर गुमाएका २३ परिवारहरुको लागि घर बनाइदिने भएको छ ।

 रंगेली नगरपालिका ३ स्थित बाबुसाहेव टोलमा चैत ३ गते भिषण आगलागीमा परी घरबिहीन भएका सन्थाल समुदायका २३ परिवारका लागि नगरपालिकाले संघीय र प्रदेश सरकारसँगको साझेदारीमा घर बनाइदिने भएको हो ।  आर्थिक अवस्था कमजोर भएका परिवारले आगलागीका कारण घर गुमाएपछि त्रिपालमुनि र खुला चौरमा बस्नु परेको र  बर्खा याममा उनीहरुको जनजीवन झन् कष्टकर हुने भएकोले रंगेली नगरपालिकाले उनीहरुको घर बनाइदिने तयारी गरेको हो ।

रंगेली नगरपालिकाको विपत व्यवस्थापन समितिको  बैठकले अग्नि पीडितहतुलाइ  २२ वटा घर बनाएर हस्तान्तरण गर्ने निर्णय गरेको छ ।  नगरपालिकाको अग्निपीडित प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना कार्यविधि २०७७ अनुसार घर निर्माणको प्रक्रिया अघि बढाएको नगरपालिकाले जनाएको छ । कार्यविधिको दफा ३ बमोजिम लाभग्राही पहिचानको काम सकिएको रंगेली नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भरत प्रसाईँले बताए । पहिचान गर्ने क्रममा एक जना अग्निपीडितको अर्को स्थानमा पक्की घर भएको पत्ता लागेकोले २३ घर पीडित  मध्ये २२ वटा  घर मात्र बनाइने प्रसाईँले बताए ।

 कूल ६ लाख ५५ हजार रुपियाँ लागतमा निर्माण हुने घर निर्माणका लागि  प्रदेश सरकारले कुल लागतको ३० प्रतिशत, स्थानीय सरकारले १४ प्रतिशत र संघीय सरकारले ५५ प्रतिशत हुन आउने रकम तीन लाख ५५ हजार रुपैयाँका दरले ब्यहोर्ने बताइएको छ । कंक्रिट र बाँसबाट निर्माण हुने घरमा टिनको छाना लगाइने छ ।

 अग्नि पीडितका लागि बन्ने घरमा भान्छा कोठा, खानेपानीका लागि ट्युबेल र शौचालय समेत  निमार्ण गरी पीडित परिवारलाई हस्तान्तरण गर्ने योजना छ ।

घर निर्माणका लागि डेमिडेनस र लुथरन वल्र्ड फेडेरेसनलेसमेत सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरपालिकाका प्रमुख दिलिप बगडियाले जानकारी दिए । 

नगरपालिकाले बस्ती पुनर्निर्माणका लागि सर्वसाधारणसँग क्युआर कोड मार्फत सहयोग आह्वान गरेकोमा हालसम्म क्युआर कोड मार्फत ६ लाख १५ हजार रुपियाँ नगद संकलन भएको नगरपालिकाले जनाएको छ ।

  अग्नि पीडितहरुले बर्खामा आफ्नै घरमा बस्न सक्ने गरी काम अघि राखिएको मेयर दिलिप बगडियाले बताए ।