काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (बुधबार) बस्दैछ । बैठक मंगलबार बिहान १० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने तय गरिएको प्रचार—प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

दल विभाजनसम्बन्धी कानूनी रिक्तताको अवस्थामा नयाँ पार्टी दर्ता गरिएको भन्दै जसपा नेपालले अदालत जाने तयारी गरेको छ । मंगलबार उपलब्ध नेताहरूबीच अदालत जाने अनौपचारिक छलफल भएको बस्नेतले जानकारी दिए । ‘आज बस्ने केन्द्रीय कार्यकारिणी र उपलब्ध केन्द्रीय नेताहरूको बैठकमा अदालत जाने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘आजै बिहान साढे ११ बजे पत्रकार सम्मेलन पनि राखिएको छ ।’

प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार विभाजन भएको थियो। अशोक राईसहित ७ जना सांसद मिलेर जनता समाजवादी गठन गरेका थिए । नयाँ दललाई सोमबार निर्वाचन आयोगले मान्यता दिएको छ । यादव नेतृत्वको जसपा नेपालले भने संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा नयाँ दल दर्ता नहुने बताइरहेको छ ।