मोरङ -   मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा रहेको उज्यालो जीवन प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । 

 कुलतको आनीबानी सुधार तथा उपचारका लागि सुधार केन्द्रमा राखिएकाहरु शुक्रबार बिहान ६ः१५ बजेतिर भागेका हुन् । व्यवस्थापन र रेखदेखमा गरिएको गम्भीर लापरबाहीका कारण घटना भएको प्रहरीले जनाएको छ । प्रहरीलाइ बिहान १० बजेतिर मात्रै जानकारी दिइएको थियो  । प्रहरीलाई समयमै खबर नहुनुले घटना गुपचुप राख्न खोजेको हुनसक्ने आशंका गरिएको छ ।

    लागूऔषधलगायतको दुव्र्यसनमा फसेकाहरुको आचरण सुधार्न तथा उपचारका लागि केन्द्रमा राखिएका मध्ये ताला खोलेर लेटाङ–५ का दिलसन तामाङ, पालदेन तामाङ, लेटाङ–६ का अनिल गौतम, लेटाङ–८ का मदन कार्की, विशाल कार्की, कानेपोखरी गाउँपालिका–७ सरोज लिम्बू र केराबारी गाउँपालिका–१० का अनुप परियार फरार भएका हुन् । 

फरार भएकामध्ये दिलसनलाई २०८० माघ १५, अनिललाई फागुन १५, मदनलाई फागुन २६, विशाललाई माघ १८, सरोजलाई माघ २९, अनुपलाई असोज ११ गते र पालदेनलाई गत वैशाख १४ गतेदेखि सुधार केन्द्रमा राखिएको थियो । सुधार केन्द्रमा सबैभन्दा लामो समय  अनुपलाइ साढे ७ महिनादेखि राखिएको थियो । 

प्रहरीका अनुसार सुधार केन्द्रको नियमित रेखदेख र व्यवस्थापनमा देखिएको लापरबाहीले त्यहाँ राखिएकाहरु फरार भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । सुधार्नका लागि भनेर राखिएकाहरुलाई नै सुधार केन्द्रको तालाचाबी जिम्मा लगाउने गरिएको प्रहरीको भनाइ छ । ‘सुधारका लागि राखिएकालाई केन्द्रको रेखदेखदेखि सबै कुराको जिम्मा लगाइएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यही गल्तीका कारण उनीहरुले भाग्ने मौका पाएछन् ।’ 

लागूऔषधलगायतको दुव्र्यसनमा फसेकाहरुलाई केही समयदेखि सुधारका लागि राखिएको र एक्कासी उनीहरु फरार भएको सुधार केन्द्रका सञ्चालक रेवत राईले बताए । उनका अनुसार भागेकामध्ये केही सुधारको समयावधि पुगेकाहरु पनि छन् । उनीहरुलाई स्वयंसेवकको हिसाबले काम गर्न लगाउने गरिएको राई बताउँछन् । 

अभिभावक, परिवारका सदस्य र प्रहरीलाई जानकारी गराएर फरार भएकाहरुको खोजी तीव्र पारिए पनि फेला पार्न नसकिएको उनले बताए । भागेकाको खोजीका लागि इलाका प्रहरी कार्यालय लेटाङबाट इन्सपेक्टर भीमलाल ओलीको नेतृत्वमा पनि टोली खटिएको छ । 

केन्द्रका सञ्चालक राईका अनुसार खोजी गर्दा पनि फरार भएकाहरु नभेटिएपछि प्रहरीलाई घटनाको जानकारी गराइएको हो ।  उनका अनुुसार केन्द्रमा १८ जनालाई राखिएकोमा ७ जना फरार भएपछि ११ जना मात्रै बाँकी छन् ।

 डेढ वर्षदेखि सञ्चालनमा सो सुधार केन्द्रमा रहेकाहरु मध्येबाट नै गार्ड खटाउने गरिएको थियो । 

सुधार केन्द्रमा दिने गरिएको यातना सहन नसकेर त्यहाँ राखिएकाहरु भागेको हुनसक्ने अनुमान गरिएको छ ।  केन्द्रका सञ्चालक राई भने कसैलाई पनि कुटपिट नगरिएको र यातना नदिएको दाबी गरेका छन्  । यातना दिने गरिएको थियो कि थिएन भनेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।