काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आफुले नै अनुमति दिएको बताएका छन् ।
बुधबार प्रधानमन्त्री प्रचण्डले विभिन्न संञ्चारमाध्यमका सम्पादकहरुको संयुक्त पत्र बुझ्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आफूले अनुमति दिएको बताए।
सिरोहियालाई प्रहरीले पक्राउ गरेपछि सम्पादकहरुहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो।
सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो। जिल्ला अदालत धनुषाका न्यायाधीश चुडामन खड्काको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा लिएर अनुसन्धान गर्न आदेश दिएका छन् ।



















