काठमाडाैं । सहकारीको बचत अपचलन तथा ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द नहुने भएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र पठाएको थियो। तर, राहदानी विभागले उनको राहदानी रद्द गर्न नमिल्ने जवाफ पठाएको छ। 

पोखराको सुर्यदर्शन सहकारीको ठगी मुद्दा चलपछि राई फरार छन् भने उनको रेड नोटिस जारी भएको थियो। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार अहिलेसम्म फाइनल निर्णय भइसकेको छैन। यद्यपि उनको राहदानी रद्द गर्नुपर्ने कारण भने देखिएको छैन। 

‘डिसिजन भइसकेको छैन, प्रारम्भिक रुपमा हेर्दा राहदानी रद्द गर्नुपर्ने कारण देखिँदैन,’ अर्यालले शुक्रबार दिउँसो  भने।सरसर्ती राहदानीको विषय हेर्दा रद्द गर्नुपर्ने कुनै आधार नभेटिएको पनि उनले बताए। ‘प्रारम्भिक रुपमा त्यस्तो देखिएको हो,’ उनले थपे, ‘काुनविद्हरूसँग कुराकानी गर्छौं, त्यसपछि के होला हेर्छौँ।’

यसअघि मलेसियामा रहेका जीबी संयुक्त अरब इमिरेट्स (युएई) पुगेको सूचना प्राप्त भएपछि राहदानी नै रद्द गर्न लागिएको बताइएको थियो। राईको राहदानी रद्दका लागि प्रहरीले पत्राचार समेत गरेको थियो।अर्बौं ठगी गरेर भागेका जीबीलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भइरहेको छ।