भारतको उत्तर प्रदेशको बदायूँमा एउटा सनसनीपूर्ण घटना भएको छ । एक श्रीमानले छोरा जन्माउने इच्छामा आठ महिनाकी गर्भवती श्रीमतीको हसियाले पेट  चिरेका छन् । यस मुद्दामा अदालतले अभियुक्तलाई जन्मकैदको सजाय सुनाएको छ । ५० हजार जरिवाना समेत गरेको छ ।

श्रीमतीले लगातार पाँच छोरीहरूलाई मात्र जन्माए पछि  श्रीमानलाई छोरा चाहिएको भन्दै उनले आठ महिनाकी गर्भवती श्रीमतीलाई हसिया प्रहार गरी पेट चिरेका थिए । पेट चिर्दा श्रीमतीको गर्भमा रहेको  भ्रूणको मृत्यु भएको थियो । उनले श्रीमतीको गर्भमा छोरा छ कि छोरी भन्ने जिज्ञासाले श्रीमतीको पेट चिरेको बताइको छ । उक्त घटनामा श्रीमान विरुद्ध दर्ता भएको मुद्दामा अदालतले बिहीबार फैसला सुनाएको हो । 

विशेष अदालतमा महिला अपराधका न्यायाधीश सौरभ सक्सेनाले चार वर्ष अघिको मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै आजीवन कारावाससहित ५० हजार जरिवाना तोकेका हुन् । 

सिभिल लाइन्स प्रहरी चौकी इलाका घोन्चा गाउँका गोलुले भिनाजु विरुद्ध २०२० मा उजुरी दिएका थिए । उनकी दिदी अनिताको विवाह २२ वर्षअघि नेकपुर निवासी पन्नालालसँग भएको बताइएको छ । दिदीबाट पाँच छोरी जन्मिएपछि भिनाजु पन्नालालले दिदीलाई दिनहुँ कुटपिट गर्थे  ।

दिदीमाथि भिनाजुले गरेको व्यावहारको बारेमा उनको परिवारमा सुनाए,भिनाजुलाई धेरै पटक सम्झाए पनि उनी नमानेको गोलुले भने । तर,भिनाजुले फेरी पनि छोरी जन्माए दिदीलाई घरमा नराख्ने र दोस्रो  बिहे गर्ने भन्ने गरेको कुरा उनले सुनाए ।

जति  विरोध गर्दा पनि पन्नालालले ज्यान मार्ने नियतले गर्भवती श्रीमतीको पेट चक्कुले चिरे । घटनाको जानकारी पाएपछि परिवारका सदस्य घटनास्थलमा पुगेका थिए । अनितालाई गम्भीर अवस्थामा जिल्ला अस्पताल लगिएको थियो । गम्भीर अवस्था देखेर डाक्टरले उनलाई बरेली रिफर गरेका थिए । श्रीमती बाँचिन् तर गर्भमा रहेको बच्चा छोरो थियो तर,बचाउन सकिएन । एजेन्सी