धनकुटा —छथर जोरपाटी गाउँपालिका-४ पाथीभरामा सोमवार अपरान्ह करिब ५ बजे मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा छथर जोरपाटी-५ ताम्लिङका ४५ वर्षीय बीरबहादुर खनाल रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
बाँधबिसौनाबाट स्थानीय डेगबहादुर अधिकारीको शव बोकेर दाहसंस्कारका लागि तमोर नदीको त्रिवेणी जानेक्रममा को १ त ९७३७ नंबरको ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए ।
ट्र्याक्टर सडकबाट करिब एक सय मीटर तल खसेको जनाइएको छ । तीन वटा ट्र्याक्टरमा मलामी सवार मध्ये एउटा ट्र्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा समीर लिम्बु, नगेन्द्र थापा, अर्जुन थापा, थर्कबहादुर अधिकारी, ध्रुबबहादुर अधिकारी, रेगिन्द्र अधिकारी, भीमबहादुर काफ्ले लगायत १८ यात्रु घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए ।
घाइते अधिकांसको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये चार जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि पठाइएको छ



















