वीरगन्ज — बिहीबार बेलुकी वर्षासँगै आएको हावाहुरीले पर्सामा जनधनको क्षति भएको छ।प्रहरीलाई राति १०:३० बजेसम्म प्राप्त विवरण अनुसार, हावाहुरीका कारण एक जना वृद्धको मृत्यु भएको छ भने एनसेलको टावर ढलेर च्यापिदा एक जना गम्भीर घाइते भएका छन्।

पर्साको विन्दबासिनी गाँउपालिका-२ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए। उनका अनुसार बिहीबार बेलुकी आफ्नै घरको पिढीमा बसिरहेका बेला साह हुरीले छिमेकीको घरको छानाबाट उडाएर ल्याएको जस्तापाताले लागेर गम्भीर घाइते भएका थिए । घाइते साहलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।

यस्तै पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर ५ स्थित एनसेलको टावर हावाहुरीले ढलेको र त्यसले च्यापिएर एक पुरुष गम्भीर घाइते भएका छन् । घाइतेको पहिचान भने खुलेको छैन। उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।

बहुदरमाई-५ मै हावाहुरीले एक रुख घरमा खस्दा च्यापिएर ९ जना घाइते भएको खबर पनि प्राप्त भएको छ । तर यसबारे प्रहरीलाई अहिलेसम्म आधिकारिक जानकारी भने आइनसकेको न्यौपानले बताए ।

बिहीबार बेलुकीको हावाहुरीले पर्सा जिल्लामा पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको न्यौपानेले जानकारी दिए।