काठमाडौँ । नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ २१ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । भेलाले महिलाको नेतृत्व विकासलगायत विभिन्न २१ बुँदे प्रस्ताव पारित गरेको हो ।

भेलामा देशभरबाट एमालेमा सक्रिय पाँच हजार महिला सहभागी थिए । भेलाको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । भेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गरेका थिए । भेलाले महिला सहभागितालाई गुणात्मक र अर्थपूर्ण बनाउँदै तहगत रूपमा प्रमुख पदको जिम्मेवारी निर्वाह गर्ने क्षमता विकासको लागि महिला केन्द्रित उचित अवसर, सहज वातावरण र थप लगानीको आवश्यकता महसुस गरेको निष्कर्ष निकालेको छ ।

प्रस्तावमा भनिएको छ, ‘हामी सबै संगठनभित्र नेतृत्व विकासका विशेष कार्यक्रम सञ्चालन गर्न प्रतिबद्ध छौं । साथै पार्टी नेतृत्व र निर्वाचन समेतलाई ध्यानमा राखी नेतृत्व विकास र निरन्तरताको साथै प्रतिस्पर्धी क्षमता विकासका लागि यो भेला पार्टी नेतृत्व र राज्यको समेत ध्यानाकर्षण गर्दछ ।’ भेलाले एमालेले अगाडि सारेको पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्यमा पूर्णरुपमा ऐक्यबद्धता जनाउँदै आ–आफ्नो ठाउँबाट सकेको योगदान गर्न प्रतिबद्धता जनाएको छ ।