नयाँ दिल्ली — दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् । २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि उनी जेल पुगेका हुन् ।
दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले भनिन्, ‘चुनाव लोकतन्त्रको जग हो। लोकतन्त्र बचाउन सर्वोच्च अदालतले केजरीवाललाई २१ दिनको जमानत दिएको थियो। अदालत र संविधानको सम्मान गर्दै केजरीवालले निर्धारित मितिमा आत्मसमर्पण गर्नु भएको छ ।’
‘यो सत्य हो कि उहाँको स्वास्थ्य राम्रो छैन। उनको केटोन लेभल धेरै उच्च छ, उनको तौल छ किलोले घटेको छ तर पार्टीका कोही नेतालाई जेल जाने डर छैन,’ उनले भनिन् ।
दिल्ली एक्साइज मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो। अदालतले निर्वाचन प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा हुने र मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो ।




















