काठमाडौँ । काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा दुई जनाको शव फेला परेको छ। दक्षिणकाली नगरपालिका ८ केराबारी भन्ने ठाउँको खोंचमा मृत अवस्थामा २ जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
‘उनीहरुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अनुमान हामीले गरेका छौँ,’ अधिकारीले भने, ‘एक महिला र एक पुरुषको शव फेला परेको हो। केही दिनअघि नै उनीहरु दुर्घटनामा परेको अनुमान हाम्रो छ। शवको सनाखतको प्रयास भइरहेको उनले बताए।
घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि फेला परेको छ। अप्ठ्यारो खोंचमा मोटरसाइकल खसेको कारण समयमै घटनाको विषयमा जानकारी नभएको अधिकारीले बताए।



















