काठमाडौँ । थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी ४५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने सर्लाही मलंगवा नगरपालिका–४ का ४५ वर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंहलाई पक्राउ गरेको हो ।
जुवा तथा सट्टेबाजी सम्बन्धी कसूरमा थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनी निजको आफन्तहरूबाट नगद र चेकमार्फत उक्त रकम ठगी गरेको खुल्न आएपश्चात् काठमाडौं उपत्यका प्रहरी कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर धापाखेलबाट पक्राउ गरेको हो ।उनलाई ठगी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले अनुसन्धान गरिरहेको छ ।



















