काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताएका छन् ।
आज (सोमबार) भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, नेपाल–भारत सीमा समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भएको बताए । उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको जानकारी दिए ।
‘महामहिम नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको छ । उहाँले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने भन्नु भएको छ । जी–७ को बैठक इटालीमा छ । त्यता गएर नेपाल भ्रमणमा आउँछु भन्नु भएको छ,’ प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग भने ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘नरेन्द्र मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भयो । मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु ।’
उनले मन्त्री एस. जयशंकरसँगको भेटमा नेपाल र भारतबीच व्यापार विस्तारलगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक कुराकानी भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग नेपाल र भारतबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा छलफल गरेको बताए ।



















