इलाम— नेपालको प्रमुख पर्यटकीय क्षेत्र इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा यतिबेला भारतीय पर्यटकको चहलपहल बढेको छ । तराइमा गर्मी बढेसँगै भारतको पश्चिम बङ्गालका क्षेत्रबाट सिक्किम र दार्जिलिङ पहाड घुम्न आउने पर्यटक पशुपतिनगर आउने गरेका छन् ।
अहिले पशुपतिनगर बजार यिनै भारतीय पर्यटकको भरमै चलिरहेको छ । पशुपतिनगरको फाटक नजिक राखिएको पर्यटन सूचना केन्द्रको तथ्याङ्कअनुसार गएको वैशाख महिनामा चार हजार ५७ र यो जेठ महिनाको आजसम्ममा पाँच हजार छसय जना भारतीय पर्यटक नेपाल आएका छन् । पशुपति नगरमा पश्चिम बङ्गालका सिलिगुढी, डुवर्स, नक्सल लगायतका स्थानबाट पहाड आएका भारतीय पर्यटक अहिले दैनिकजसो आउने गरेका छन् । उनीहरुले पशुपनिगरमा करिब एक घण्टाको समयमा कपडा, ब्यागलगायत विभिन्न घर सजावटका चीनियाँ सामग्री किनमेल गरेर फर्कने गरेका छन् ।
अहिले पशुपति नगरको बजार भारतीय पर्यटककै भरमा चलेको सूर्योदय नगरपालिका –२ का वडा सदस्य उपेन्द्रराज पाण्डे बताउनु हुन्छ । करिब २०–२२ वर्षअघि दैनिक लाखौंको कारोबार हुने पशुपतिनगरको अहिले व्यापारिक अवस्था भने निकै खस्केको उहाँ बताउनुहुन्छ ।
‘पहिला बिहान ८–९ बजेदेखि पशुपतिनगर बजारमा गाउँ–गाउँबाट आउने नागरिकको खचाखच हुन्थ्यो । त्यो अहिले छैन । हरेक गाउँ–टोलमा सडक सुविधा र यातायातको सुविधाले पनि मानिसहरु टाढाकै बजार जाने गरेको पाइन्छ’ पाण्डे भन्नुहुन्छ, ‘अहिले पशुपतिनगर भारत घुमेर एकैछिनका लागि आउने भारतीय पर्यटनकै भरमा छ । यहाँको व्यापार व्यवसायलाई कसरी टिकाउने भन्ने चिन्ता हामीलाई पनि उत्तिकै छ ।’
पहाडी जिल्लामध्ये भारतसँग सहज बाटो जोडिएको पहाडी नाका त पशुपतिनगर नै हो । तर यो नाकालाई वैधता दिन नसक्दा पशुपतिनगरको आर्थिक गति ओरालो लागेको सूर्योदय नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताउनुभयो ।
‘यहाँबाट कृषि उत्पादन अलि–अलि निकासी हुन्छ । भारततिर अध्यागमन छैन । हाम्रो नेपालमा भएको अध्यागमनबाट पनि केही काम हुन सकेको छैन’ राई भन्नुहुन्छ ‘सरकारले केन्द्रीय स्तरबाटै भारततर्फ अध्यागमन स्थापनाको पहल नगर्दा पशुपतिनगरमा आर्थिक संकटको अवस्था छ । यो नाकालाई वैधता दिनु हो भने तेस्रो मुलकका पर्यटक आउन र पूर्वी पहाडमा उत्पादित कृषिउपज निकासी गर्न धेरै सहज हुने अवस्था छ ।’
नेपालमा उत्पादन भएका अदुवा, चिया, कुचाे, जडीबुटी, आलु, तरकारीजस्ता वस्तुहरू भारत निर्यात गर्न पनि पहाडी जिल्लाबाट झापाको काँकडभिट्टा नाका नै पुर्याउनुपर्ने अवस्था छ । नेपालतर्फ करिब पाँच वर्ष अघि स्थापना भएको अध्यागमन कार्यालय अहिले कामविहीन अवस्थामा छ । यो कार्यालयमा रहेका कर्मचारी हाजिर गरेर मात्र बस्ने बाध्यता छ ।
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले यस नाकालाई सुचारु गराउनु पर्ने धारणा राखेका छन् । यस विषयमा भारतीय राजदूतसँग अध्यागमन राख्ने विषयमा पटक–पटक कुरा भएको बताउनुभयो । ‘भारतीय राजदूतसँग भारततर्फ अध्यागमन राख्ने विषयमा पटक–पटक कुरा भएको छ । तर, पश्चिम बङ्गाल सरकारको स्वीकृत नभई केन्द्र सरकारले त्यहाँ अध्यागमन राख्न नमिल्ने जस्तो बुझिन्छ । अब सङ्घीय सरकारले यो विषयमा कूटनीतिक पहल गर्न जरुरी छ ।’ पशुपतिनगर नाकालाई सुचारु गराउन सके राजस्व सङ्कलन बढ्नेदेखि पूर्वका किसानको आर्थिक अवस्था सुध्रिने कारण देशलाई पनि फाइदा पुग्ने स्थिति रहेको अध्यक्ष राईको भनाइ छ ।



















