काठमाडौँ —  अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल भेटिएका छन्। कमलबजार नगरपालिका–९ मस्टाबण्डालीस्थित स्वास्थ्य चौकीको औषधी राख्ने फ्रिजभित्र बियरहरू भेटिएका हुन्।

स्थानीयले छड्के अनुगमन गर्ने क्रममा फ्रिजभित्र ३ बोतल बियर भेटाएका हुन् । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको पनि स्थानीयहरूको आरोप रहेको छ ।

सो घटना सार्वजनिक भएपछि वडाध्यक्ष कमल भण्डारीले भने फ्रिजमा बियर राख्नेलाई छानबिन गरेर कारबाही गर्ने बताएका छन् । 

स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल भेटिएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल नै बनेसँगै चौतर्फी विरोध समेत भएको छ ।

स्वास्थ्य चौकीको ‘फ्रिज’ बियरका बोतल राखेको बारेमा आफूले मिडियाबाट जानकारी पाएर अचम्ममा परेको कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर विष्टले बताएका छन्  ।