विराटचोक । मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंले सुन्दरहरैँचालाई बाल मैत्री नगर घाेषणा गर्ने तयारी भइरहेकाे बताएका छन् । आइतबार इन्द्रपुर जेसीज भवनमा सम्पन्न बाल मैत्री स्थानीय शासन अभिमुखिकरण तथा विभिद् बाल प्रस्तुति प्रदर्शनी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नगर बाल सन्जालकाे समन्वय तथा नगरपालिकाकाे आयाेजनामा सम्पन्न कार्यक्रममा सामुहिक हस्ताक्षर गर्दै २०८३ जेठ ९ गते भित्र नगरलाई बाल मैत्री नगर घाेषणा गर्ने मेयर गुरागाइले उदघाेष गरे ।
बाल भेला समेत रहेको उक्त कार्यक्रममा सामुहिक हस्ताक्षर गर्दै नगरप्रमुख गुरागाईंले स्थानीय तहको वार्षिक योजनामा बाल अधिकारका सवाललाई प्राथमिकता दिने, समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधामा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने विषयमा नगरपालिकाले सक्दाे सहयाेग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा उपप्रमुख अकली चाैधरीले घर भित्र बाटै बाल मैत्री व्यवहार गर्नुपर्ने भन्दै यसमा आजैदेखि सबै लाग्नु पर्ने बताइन ।
यो पनि - सुन्दरहररैँचामा २२ करोड लागतमा नगर अस्पताल भवन बन्ने,भदौमा ठेक्का खोलिने
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसार स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति, योजना र कानुन तर्जुमा गर्दा बालबालिकाको सहभागिता गराउने, स्थानीय तहमा निर्माण हुने सबै भौतिक पूर्वाधार बालमैत्री बनाउने तथा बालबालिकाको हितविरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्ने उद्देश्य निर्देशित छ ।
याे निर्देशिकामा बालमैत्री स्थानीय शासनका लागि तय गरिएका बाल बचाऊका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाहसम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक उल्लेख गरिएको छ । यि सूचकमा आधारित भई नगरपालिकाले बाल मैत्री नगर घाेषणा गर्नेछ ।
राष्ट्रिय बाल अधिकार परिषद स्राेत व्यक्ति स्वस्तिका पाेख्रेलले सहजीकरण गर्दै बाल अधिकार र बालमैत्री स्थानीय शासन लगायत विषयमा रहेर प्रशिक्षण गरेका थिए ।
कार्यक्रममा सबै विद्यालयबाट प्रतिनिधि शिक्षक सहित विद्यार्थी, नगर बाल सन्जालका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रहरी, जनप्रतिनिधिलगायतकाे उपस्थिति रहेकाे थियो । उपप्रमुख अकली चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख शान्ता घिमिरेले कार्यक्रम बारे प्रकाश पारेका थिए भने अनिल पाेख्रेलले कार्यक्रम सञ्चालन गरेका थिए । साेमबार बालबालिकाले कला प्रदर्शनी गर्ने कार्यक्रम तय गरिएकाे जनाइएकाे छ ।





















