सोलुखुम्बु, ७ साउन । पछिल्लो समय नेपालमा हत्या, हिंसा लगायतका आपराधिक क्रियाकलापहरु बढेर गएका छन् । यसैबीच सोलुखुम्बुको लुक्लामा १४ वर्षीया भतिजीलाई आफ्नै काकाले वर्षौदेखि बलात्कार गर्दै आएको घटना बाहिर आएको छ ।

आफ्नै दाजुको छोरीलाई बर्षौदेखि पटक–पटक बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ६ कक्षामा पढ्दै गरेकी ती बालिकाको पेटमा ८ महिनाको गर्भ रहेको अस्पतालले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–२, लुक्लामा बस्दै आएकी बालिकालाई आफ्नै काकाले पटक–पटक बलात्कार गरी गर्भवती बनाएको थाहा भएपछि प्रहरीले २२ वर्षीय काकालाई नियन्त्रणमा लिएको छ । युवकले आफ्नै दाजुको छोरीमाथि करणी गरेका हुन् । पीडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाए लगत्तै पीडित बालिकाको मौखिक बयानका आधारमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार अभियुक्तले अपराध स्वीकार गरेका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने क्रममा चिकित्सकले उनको पेटमा ८ महिनाको शिशु हुर्किरहेको जनाएका छन् । थप अनुसन्धान र कार्बाहीका लागि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी चौकी लुक्लाले जनाएको छ । नयाँ पेजबाट