विराटनगर — मोरङमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोलीले बिहिबार दिउँसो ३ बजेतिर १५ सय ४८ किलोग्राम (लगभग साढे १५ क्विन्टल) गाँजा बरामद गरेको हो ।

भारततर्फ लैजान ठिक्क तयारी पारिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको खेतमा रहेको गोठमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको छ ।

गोठमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन एसपी कार्की आफैं टोली लिएर पुगेका थिए । गोठ खानतलासी गर्ने क्रममा ४९ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा फेला परेको थियो ।

गाँजा बरामद भएपछि गोठधनी सिंहलाई पक्राउ गरिएको छ। गाँजा बरामद गरेर सिंहलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।