काठमाडौं — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताएका छन् ।
बिहीवार रुपन्देहीमा २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले सो घोषणा गरेका हुन् । अध्यक्ष ओलीले एसईईको पूरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गरिने बताए।
एसईई परीक्षा राम्रोसँग उत्तिर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सामाजिक विषयका कक्षाहरु अनलाइनमार्फत उपलब्ध गराइने अध्यक्ष ओलीले बताए । उनले परीक्षामा फेल हुनु विद्यार्थीको मात्रै कमजोरी नभएको भन्दै शिक्षकहरू गुणस्तरका नहुँदा धेरै विद्यार्थी एसईई परीक्षामा फेल भएको बताए।
उनले भने , ‘अब मौका परीक्षा दिने विद्यार्थीलाई खुशी म के साट्न चाहन्छु भने उहाँहरुलाई उत्तिर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सोसियोलोजीका कक्षाहरु अनलाइनमार्फत सबै विद्यार्थी एसईई दिँदै हुनुहुन्छ। देशभर नै निःशुल्क उपलब्ध गराइनेछ। ताकी उहाँहरुले काठमाडौंबाट गुणस्तरीय शिक्षकहरुबाट अनलाइनमार्फत उहाँहरुलाई शिक्षा दिनुहुनेछ।’
अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै निःशुल्क अनलाइन शिक्षा लिनका लागि केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न उनले आग्रह गरे । उनले पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर अनलाइन कक्षाको लाभ लिन सकिने बताए ।


















