काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद बैठकमार्फत देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । आइतबार प्रधानमन्त्री नियुक्त भइ सोमबार शपथ ग्रहण गरेका ओलीले प्रधानमन्त्रीको हैसियतमा संसदमार्फत देशवासीलाई साउन ६ गते बस्ने संसद बैठकमा सम्बोधन गर्ने नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

मन्त्रीहरूलाई ओलीको निर्देशन : एक महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्नू
नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनताले अनुभूति हुने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

आज (सोमबार) सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उनले सो निर्देशन दिएका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । त्यसै गरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराएका थिए । ६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउने र एक वर्ष भित्र इन्डिकेटरको हिसावले पनि देखिने गरी परिणाममुखी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङले बताए । 

प्रधानमन्त्री ओलीले  विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि बढ्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए । सरकारलाई असफल हुने छुट नभएकाले त्यो अनुसार आपसी समन्वय गरेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रवक्ता गुरुङको भनाई थियो । प्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रिय हितको पक्षमा पनि दृढतापूर्वक उभिँदै काम गर्न मन्त्रीलाई सचेत गराएका थिए ।