विराटचोक — साउन ९ गते बिहान मोरङको सुन्दरहरैँचा-२ मृगौलियामा मेसिनले धान रोप्ने अभ्यास हुँदै थियो। स्थानीय किसान शेखर निरौलाको दुई बिघा क्षेत्रफलको जग्गा धान रोप्न तयार पारिएको थियो।
यसअघि सुन्दरहरैँचामा मेसिनबाट धान कतै पनि रोपिएको थिएन। त्यसैले स्थानीय सर्वसाधारण मेसिनले धान रोपेको दृष्य अवलोकन गर्न आइसकेका थिए। मेसिनले खेतमा धान रोप्न थालेपछि स्थानीय सर्वसाधारण चकित बने।
निरौलाले पनि मेसिनले धान रोप्दा काम छिटो, कम खर्चिलो र सजिलो भएको प्रतिक्रिया दिए। ‘करिव १ बिघा क्षेत्रफलमा मेसिनले धान रोप्न २ घन्टा पनि न लाग्ने रहेछ,’ उनले भने, ‘मानिसले रोपेको भए १२ / १५ जनालाई बिहानदेखि बेलुकासम्म लाग्ने गर्थ्यो ।’
निरौलाले सुन्दरहरैँचामा यो धान रोप्ने मेसिन पहिलो भित्राएका हुन् । धान रोप्नका लागि मेसिनको प्रयोग हुने भएपछि किसानलाई धान रोप्ने मजदुर खोज्ने झन्झट नहुने र कम समयमै धेरै धान रोपिने भएकाले किसानले कुर्नुपर्दैन ।
सुन्दरहरैचामै पहिलो पटक धान रोप्ने अत्याधुनिक मेसिन भित्र्याएका छौँ”, निरौलाले भने , ट्रेमा बेर्ना तयार गरी मेसिनमा राखेर रोप्ने गरिएको छ ।” ‘
सुन्दरहरैँचा नगरपालिकाका कृषि शाखा अधिकृत सुदिप भण्डारीका अनुसार नगरभित्र ५ हजार हेक्टर क्षेत्रमा धान खेती हुने भएपनि प्रमुख समस्या भनेको धान रोपाई गर्ने मान्छे नभेटिनु नै हो । रोपाई गर्ने मान्छे नपाएर धेरै खेती योग्य जमिनहरु बाँजो हुने अवस्था आएको बेला धान रोप्ने मेसिन आउनु खुशीको कुरा भएको उनले बताए। अहिले सफल परिक्षण भएको भन्दै आगामी वर्षहरुमा मेसिनले धान रोप्दा रोपाई गर्ने मानिसहरु खोज्नु नपर्ने भएकाले खेतीयोग्य जमिन बाँजो नहुने बताए।
कृषि ज्ञान केन्द्र मोरङको निमित्त कार्यालय प्रमुख राम देव सिंहले पनि धान रोप्ने मेसिनले प्रति घण्टा १० देखि १२ कठ्ठामा रोपाई गर्ने हुँदा समय पनि बचत हुने र खर्च पनि कम लाग्ने बताए। ज्ञान केन्द्रले पनि चौबीसै घण्टा आफ्ना प्राबिधिकहरु खटाएको निमित्त कार्यालय प्रमुख सिंहले बताए।
भियतनाममा बनेको उक्त मेशिन नेपालमा दुई वर्षदेखि परिक्षण गरिदै आएको र यो वर्ष देखि बिक्रि गर्न सुरु गरिएको एग्रिकल्चर मेशिनरी बिक्री गर्ने फार्म रोभर नेपालका बिक्रेता मुकुन्द श्रेष्ठले बताए ।
करिव दुई लाख मूल्य पर्ने यो मेशिनले एक घण्टामा आधा लिटर पेट्रोल खपतबाट ६ देखि १० कट्ठा जमिन सम्म रोपाइँ गर्न सकिने उनले दावी गरे । अटो सिष्टममा रहेको मेशिनमा मानिसले लाइन कन्ट्रोलमात्र गर्नु पर्ने पनि उनले जानकारी दिए । मेशिनले एक पल्ट ६ लाइन रोपाइँ गर्ने पनि बताए । मोटर साइकलको जस्तै इन्जिन भएको उक्त मेशिन खराव भएमा सामान्य खर्चमा मर्मत समेत हुने उनले बताए ।
तर,सुन्दरहरैँचा-९ का किसान हिन्दबहादुर गुरुङ भने मेशिनले धान रोप्दा बीचमा भने रोपाइँ राम्रै हुने भए पनि छेउकुनामा चाहिँ मान्छेले नै रोप्नु पर्ने भएको हुदाँ त्यति उपयोगी नहुने बताउछन् । त्यस्तो समस्याको पनि व्यवस्थित भए धेरै राम्रो हुने गुरुङको भनाई रहेको छ ।
किसानलाई हौसाला प्रदान गर्न पुगेका सुन्दरहरैँचाका मेयर केदारप्रसाद गुरागाईंले धानको बिउ लागाएर सुभारम्भ गरेका थिए । त्यस्तै स्थानीय संचारकर्मीहरु,खेमचन्द्र अधिकारी,कृष्णचन्द्र सुवेदी,एलएन गच्छदार, योगेन्द्र योगी लागायतको उपस्थिती रहेको थियो ।



















