काठमाडौं — शेख हसिनाले राजीनामा दिएपछि बंगलादेशमा आज अन्तरिम सरकार गठन हुँदैछ । यो १५ सदस्यीय सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले गर्नेछन्। सरकारको सपथ ग्रहण साँझ ८ बजे हुनेछ ।
युनुस आज दिउँसो २ः४० बजे पेरिसबाट बंगलादेश पुग्नेछन् । ढाका ट्रिब्यूनका अनुसार सपथ समारोहमा करिब ४०० जना सहभागी हुनेछन् । बंगलादेशका सेना प्रमुख वकार-उज-रहमानले बुधबार सपथ ग्रहणसँग सम्बन्धित जानकारी दिएका छन् ।
साथै, उनले बंगलादेशमा ३-४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने बताएका छन् । उनले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानूनको दायरामा ल्याउने बताउँदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिले काम गरिरहेकोसमेत जानकारी दिए ।
उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफूले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रक्रियामा फर्किने विश्वास व्यक्त गरेका छन् ।
गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ । आन्दोलनरत विद्यार्थीहरुको माग बमोजिम राष्ट्रपति मुहमद शाहबुद्दीनले संसद भंग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।




















