विराटचोक— मोरङको सुन्दरहरैँचा नगरपालिका -१० स्थित त्रिवेणीचोकमा लागु औषध प्रयोग न्यूनीकरण सम्बन्धी सामुदायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । आमकास नेपाल मोरङ र ईलाका प्रहरी कार्यालय विराटचोकको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
शनिबार भएको कार्यक्रममा प्रमुख बक्ताको रुपमा ईलाका प्रहरी कार्यलय विराटचोकका प्रहरी नायव निरिक्षक सानुराम कार्कीले लागु औषध दुर्व्यसनले व्यक्ति राष्ट्र परिवार , समाज र राष्ट्रलाई पर्ने असर र क्षतिका बारेमा प्रशिक्षण गरेका थिए । उनले लागु औषधमा व्याक्तिको व्यावहारमा देखिने परिवर्तन र सुधार्न सकिने अवस्था बारे सचेत हुन अभिभावकलाई आग्रह गर्दै लागु औषध सम्बन्धि कानुन बारे जानकारी गराउदै समुदायका सबै मानिसहरुले प्रहरीलाई सहयोग गरिदिन अनुरोध गरे ।
त्यसैगरी ट्राफिक प्रहरी कार्यालय विराटचोकका इन्चार्ज नरेन्द्र पौडेलले ट्राफिक नियमको पालना कसरी गर्ने, घटना के हो दुर्घटना के हो भन्ने बारे प्रष्ट्याएका थिए । उनले लागु औषध र मादक पदार्थ सेवनका कारणबाट अत्याधिक मात्रामा दुर्घटना हुने र भवितव्य बाट हुने आकस्मिक दुर्घटनाका बारे जानकारी गराउदै दुर्घटनाका मुख्य कारण लागू पदार्थ र मादक पदार्थ सेवन भएकोले यसको न्युनिकरणका लागि सबै अभिभावक, नागरिक समाज, समाजसेवी व्यक्तिहरु संघ/संस्थाहरु र सेवामा खटिने सबैले सकृयता देखाउन अनुरोध पनि गरे ।
त्यसैगरी सहायक प्रहरी निरिक्षक मुना बिष्टले प्रशिक्षणको क्रममा सामाजिक संजालबाट हुने साईबर क्राईमको र मादक पदार्थको सेवनद्वारा समाजमा ठूलो बिकृती फैलदै गएको र यो नियन्त्रण बाहिर हुने अवस्था आई सकेकाले सबैले गम्भीर भएर सोच्ने र आफ्नो पोष्टको लाईक र कमेन्टका लागि आफू कहाँ जाने कहिले फर्कने यस्ता अति गोप्य राखिनुपर्ने व्यक्तिगत कुराहरु पनि फेसबुकमा समाबेस गरेर पोष्ट गर्ने बानीले गर्दा पनि अपराधीहरुले घटना घटाउने मौका पाईरहेको कुरा प्रष्ट पार्दै यस्ता गतिविधि नगर्न अनुरोध गरिन ।
कार्यक्रममा ईन्द्रपुर साना सहरी खाने पानी संचालक समितिकी सदस्य मनु तामाङ्ले यस्तो महत्वपुर्ण कार्यक्रम अति प्रभावित क्षेत्रलाई लक्षित गरेर संचालन गरेकोमा आमकास नेपाल मोरङ र ईलाका प्रहरी कार्यलय विराटचोकलाई धन्यवाद दिइन । उनले फेरि केही दिन पछि यसै ठाउँको अर्को प्रभावित ठाउमा यो कार्यक्रम सबै तर्जुमा गरौ भन्दै यस्तो महत्वपुर्ण कार्यक्रम संचालन गरेकोमा खुसी व्यक्त गरिन ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिका -१० वडाध्यक्ष राजकुमार राईले यो कार्यक्रम अतिनै आवसकिय र महत्वपुर्ण रहेकाले आयोजक सँस्थाहरुलाई धन्यवाद दिदै लागु औषधको न्युनीकरणका लागि सरकार,नागरिक समाज साथै सबै क्षेत्रबाट लाग्नु पर्ने र यसलाई अझ अभियान कै रुपमा लैजानु पर्ने कुरा व्यक्त गरे ।
कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । एक सय भन्दा बढी मानिसहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रभावित परिवारका अभिभावकहरुको पनि राम्रो उपस्थिति रहेको थियो ।
आमकास नेपालकी अध्यक्ष उमादेवी सेढाइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सस्थाकी उपाध्यक्ष राधिका खतिवडाले स्वागत मन्तव्य गरेकी थिइन् भने सचिव ईन्दिरा प्रसाईले कार्यक्रम संचालन गरेकी थिइन् ।




















