विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश विकास गर्नलाई भ्रष्टाचार दुष्मन भएको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाण्डौंले विराटनगरमा आयोजना गरेको भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना –२०८१ का सम्वन्धमा अन्तरक्रियामा उहाँले भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचार हटाउन शुन्य सहनशिलताको नीति अवलम्बन गर्नु पर्ने बताए । यसका लागि राजनीतिक, प्रशासनिक नेतृत्व र सुरक्षा निकाय लगायत सबैले प्रतिवद्धता व्यक्त गर्नु पर्ने आवश्यक्ता रहेको उनले औल्याए ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा भ्रष्टाचार विरुद्धको रणनीति बनाउन आवश्यक छलफल एवं कार्य शुरु गर्ने जानकारी दिए ।
भ्रष्टाचार नियन्त्रण गर्न विधि बनाएर प्रतिवद्धतासहित काम गरेमा सफल हुने भन्दै मुख्यमन्त्री कार्कीले भने ,‘ देश विकासको लागि भ्रष्टाचार नियन्त्रण आवश्यक रहेकोले यस कार्यका लागि हामीसबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने पर्छ’ ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव फणिन्द्र गौतम,प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेश सभा सदस्य मालति सुब्बा ,सहसचिव राजेन्द्र थापा, उपसचिव ओम प्रकाश पराजुलीले भ्रष्टाचारको जोखिम पहिचान गरि निगरानी गर्नुपर्ने, प्रदेश र स्थानीय निकायमा भ्रष्टाचार विरुद्धको कार्यनीति बनाएर कार्यान्वयन गरे नियन्त्रणमा सहयोग पुग्ने विचार राखे ।



















