झापा । झापा भद्रपुरमा दुईटा मोटरसाइकल जुध्दा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मेची राजमार्ग अन्तर्गत चारआली केचना सडक खण्डको भद्रपुर नगरपालिका– १० स्थित हनुमान चोकमा गए राति ९ः५० मा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
प्रदेश १–०१–०१४ प ९९३ नम्बर को मोटरसाइकल चालक भद्रपुर– १० केन्द्र मोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय छोरा आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घाइते भएका भण्डारीलाई ओमसाई हस्पिटल भद्रपुरमा पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।
त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार भद्रपुर नगरपालिका– १० का २४ वर्षीय बिपान्सु राउत र मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर– ८ का २५ वर्षीय संजिप गिरी घाइते भएका छन् । राउतको ओमसाई पाथीभरा हस्पिटलमा र गिरीको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको डीएसपी चन्दले बताए । दुवै सवारीसाधन प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको जनाइएको छ ।


















