- युवराज बास्कोटा
महिला जागरण हरिकीर्तिन समूहको छातामुनि आबद्ध गृहनगर पथरी शनिश्चरे नपा वडा नम्बर ३ अवस्थित आमाहरूको एउटा जाँगरिलो समूहले विगत केही समययता परम्परागत संगिनी स्वर र साधनामा रुचिपूर्वक मञ्चन गर्दै आउनुभएको छ । पछिल्लो दशकयता नेपाली समाजमा भित्रिएको पश्चिमा संस्कृति, आयतित बाजागाजा, लयआदिको प्रभावले लोपोन्मुख यो कलात्मक संस्कृतिलाई बचाउने र पुस्ता हस्तान्तरण गर्ने आमाहरूको योजना भएको बुझिन्छ ।
यसमा सहजकर्ताको रूपमा उभिएर सहयोग गर्दै आउनुभएका स्थानीय भाइ अर्जुन काफ्लेका अनुसार आमाहरू केही दिनमा संगिनी विकासक्रमको सिकाइ र उपलब्धी अध्ययनका लागि म्याग्दी, पर्वत, बागलुङ, स्याङजा, गुल्मी, पाल्पा, तनहुँलगायतका जिल्ला जिल्लामा जानुहुने, यसबारे घनिमत अध्ययन गर्ने र स्थानीय आमा दिदीबहिनीमाझ बसेर प्राप्त ज्ञानमिश्रित अनुभव आदानप्रदान गर्ने सोचमा हुनुहुन्छ ।
संगिनी नाच मूलतः आमा वा दिदीबहिनीहरूले स्थानीय भाका र लयमा गीत गाएर फन्को मार्दै छमछमी नाच्ने एक परम्परागत नृत्य हो । परस्पर मानवीय प्रेम र समर्पण रहेको संगिनी नाचमा प्रयोग गरिने शब्द चयन, भाका र स्वरसहितको साधनाभित्र धार्मिक ग्रन्थहरूको सार पाइन्छ । जस्तै कि रामायण, महाभारत, गीता आदि जस्ता काव्य ग्रन्थहरूको सन्देशात्मक तथ्यलाई गीत र रैथाने लयमा परिणत गरी ताली बजाई बजाई नाच्ने गरिन्छ । सामाजिक मुद्दालाई पनि यसले कथावस्तुको रूपमा बोक्ने गर्दछ ।
पैराणिककालका कथावस्तुहरू समेटिएकाले संगिनी गीत सुन्नमा कतिपयलाई आनन्द लाग्छ, मिठो मान्नुहुन्छ– अग्रज आमा रमा काफ्ले भन्नुहुन्छ । यसमा संस्कार, संस्कृति र नैतिक मूल्यमा आधारित आचरण पनि भएकोले पुस्ता हस्तान्तरण जरुरी भएको उहाँको तर्क छ । युवा उमेर समूहका नानीहरू लिएर सिकाइको उत्तराधिकारी निर्माण गर्न लागेको दृश्यअघि बहुविधाले आकर्षित रमा आमा आफैंमा ढुक्क हुनुहुन्छ ।
अन्य विधामा प्रयोग हुने गीत संगीत जस्तो केवल मनोरञ्जनको साधन होइन, सांस्कृतिक धरोहरको प्रतीक हो, जसले सामुदायिक एकता र सामाजिक सद्भावको पक्षपोषण गर्दछ । महिला जागरण हरिकीर्तिन समूहले आफ्नो अभिनय र मञ्चनका क्रममा प्रयोगमा ल्याएका कतिपय संगिनी गीत र संगीतमा संस्कार र संस्कृति आदि पक्षलाई नियाल्दा यसमा परम्पराको निरन्तरता मात्र छैन, आजको पुस्ताले मन पराउने कतिपय गीतभन्दा सामाजिक सद्भावयुक्त सहिष्णुता, देशभक्ति र राष्ट्रभक्ति पनि निर्देशित छ । यो आज निकै खड्कँदो पक्ष हो, आफैंमा सर्वाधिक राम्रो विषय हो ।
पूर्वजनप्रतिनिधि देवीप्रसाद घिमिरे, भूवनेश्वर पोखरेल, उमकान्त खतिवडा, टंकप्रसाद पोखरेल, प्रेमप्रसाद नेपाल, चन्द्रप्रकाश अधिकारी, बलभद्र आचार्य, लोकनाथ गौतमसहितको प्रयासमा उठेको बालन समूहको सक्रियता सँगसँगै संगिनी निर्माण र सञ्चालनमा सहकार्य गर्नुहुने देवीमाया लुइँटेल, टंक पोखरेल, यशोदा पोखरेल, निरा अधिकारी, मुना अधिकारी, सिता अधिकारी, पिंगला पोखरेललगायतको भूमिका उल्लेख रहेको स्थानीय बालन तथा संगिनीप्रेमी बताउनुहुन्छ ।
सम्बद्ध सबैलाई हार्दिक सम्मान !




















