बिर्तामोड— घरेलु कामदारका रूपमा राखिएकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी संग अदालतमा बयान लिइएको छ। झापा जिल्ला अदालतमा आज करिब तीन घण्टासम्म उनलाई बयानका लागि उपस्थित गराइएको थियो।

शुक्रबार अभियोग पत्र दायर भइसकेपछि आजको बयानमा नै समय सकिएकाले थुनछेक बहस हुन सकेन। अदालतले भोलिदेखि थुनछेक बहस सुरु गर्ने जनाइएको छ । शिवाकोटीको पक्षमा उनका कानुनी टोलीमा अशोक पोखरेल, गजेन्द्र आचार्य, र टंक उप्रेतीजस्ता कानुन व्यवसायीहरूले बहस गर्ने तयारी गरेका छन्। मुद्दा झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको ५ नं इजलासमा परेको छ।

प्रहरीले शिवाकोटीलाई मंसिर २४ गते पक्राउ गरेको थियो। पक्राउ लगत्तै स्वास्थ्य समस्या देखिएको भन्दै उनलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ। हालसम्म शिवाकोटी अस्पतालमै छन्।