विराटचोक— मोरङको सुन्दरहरैँचा नगरपालिका-१, लक्ष्मीपुरस्थित सूर्यज्योती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई जाडो मौसममा न्यानो र स्वास्थ्यकर वातावरणको सुनिश्चितताका लागि निःशुल्क जुत्ता र जुरफ वितरण गरिएको छ।

सामाज सेवामा सक्रिय  संथा पाथिभरा स्वतन्त्र महिला समाजले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत ३५ जना विद्यार्थीहरूलाई यी सामग्री उपलब्ध गराएको हो। समाजकी अध्यक्ष योजना शर्मा ढकालका अनुसार, बालबालिकाको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै यो अभियान सञ्चालन गरिएको हो। उनले समाजले निस्वार्थ सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको बताइन्।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका वडा सदस्य धारणा खनाल, महिला समाजकी संस्थापक अध्यक्ष प्रमिला दुलाल, पूर्व अध्यक्ष सुनिता पोखरेल ढकाल, उपाध्यक्ष जानुका थापा, सचिव बिन्दा थापा दाहाल, र अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

विद्यालयका शिक्षकहरूले पाथिभरा स्वतन्त्र महिला समाजलाई यस्तो मानवतावादी कार्यको लागि धन्यवाद व्यक्त गरे। पीछडिएको तथा आर्थिक रूपमा विपन्न समुदायका बालबालिकाका लागि यस प्रकारको सहयोगले शिक्षामा थप प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।