विराटचोक— माघ ३० देखि फागुन १० सम्म सुन्दरहरैँचाको विराटचोकमा हुने सुन्दरहरैँचा विराट एक्सपो ४ का लागि व्यवसायिक स्टलहरु बुक गर्नेहरुको भिड हुन् थालेको छ । स्टलहरु बुक गर्न स्थानीय व्यापारी, व्यवसायी देखि अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरूसहितको भिड हुन् थालेको हो । 

सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा हुने एक्सपोमा दुईसय वटामात्र स्टल राखिने तयारी गरिएको छ । 

हाल सम्म अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरूसहित ४० वटा स्टलहरु बुक भैसकेको र बुक गर्नेहरुको भिड हुन् थालेको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार, एक्सपोका स्टल शुल्क १५ हजारदेखि १ लाख रुपैयाँसम्म तोकिएको छ। जसमा कृषि सम्बन्धी स्टलमा १५ हजार,सामान्य व्यवसायीक स्टल: ५० हजार, होटल, अटोमोबाइल, र ठूला उद्योग लगायत १ लाख रुपैयाँ  तोकिएको छ।

सुन्दरहरैँचामा निर्माणाधीन आधुनिक सार्वजनिक शौचालय र पुस्तकालयका लागि आर्थिक सहयोग जुटाउनु यस एक्सपोको मुख्य उद्देश्य रहेको उपाध्यक्ष डिल्लीप्रसाद ढकालले बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिनेछ। यसले क्षेत्रीय व्यवसायलाई प्रोत्साहन गर्न र अन्तर्राष्ट्रिय कम्पनीहरूसँग साझेदारीको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।