विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिकाले नागरिकताका लागि अनलाइन सिफारिस सेवाको सुरुवात गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङको सहजीकरणमा सोमबार आयोजित विशेष कार्यक्रममार्फत सो सेवाको थालनी गरिएको हो।

नगरपालिकामा आयोजित कार्यक्रममा नगर उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वडा नम्बर १२ का वडाध्यक्ष एवं नगर प्रवक्ता रोशनप्रसाद ढकाल र ८ न. वडाका  वडाध्यक्ष खेमप्रसाद न्यौपानेले संयुक्तरूपमा अनलाइन सिफारिस सेवा सुरु गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेश सभाका पूर्वसदस्य लोकप्रसाद संग्रौलाको पनि उपस्थिति रहेको थियो ।

Untitled-7 (1)नगर उपप्रमुख चौधरीले अनलाइन प्रणालीले सेवाग्राहीलाई छिटोछरितो रूपमा नागरिकता प्राप्त गर्न सहयोग पुर्याउने र प्रशासनिक झञ्झट हटाउने विश्वास व्यक्त गरिन । सफ्टवेयर प्रणालीमा प्रविष्ट विवरणहरू गृह मन्त्रालय अन्तर्गतको नागरिकता फाँटमा रजिष्टेशन कोडका आधारमा पठाइने भएकाले सेवाग्राहीले सिफारिसका पत्रहरू जिल्ला वा इलाका प्रशासन कार्यालयमा लैजानुपर्ने बाध्यता हट्नेछ।

यस सेवा मार्फत अब नागरिकता लिन आउने सेवाग्राहीले सिफारिसका लागि कार्यालयमा आउने झन्झट बेहोर्नु नपर्ने भएको छ। अनलाइन प्रणाली प्रयोग गरेर सिफारिस प्रक्रिया पूरा गर्न सकिने भएकाले यो सेवाले सेवाग्राहीको समय र श्रम बचत गर्न मद्दत गर्ने नगरपालिकाले जनाएको छ।

Untitled 1कार्यक्रममा सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिँदै अनलाइन सिफारिस प्रक्रिया प्रस्तुत गरिएको थियो। यो सेवाको सुरुवातसँगै सुन्दरहरैँचा नगरपालिकाले प्रविधिको उपयोगमार्फत जनतालाई छरितो र प्रभावकारी सेवा उपलब्ध गराउनेतर्फ एक महत्वपूर्ण कदम चालेको छ।