काठमाडौँ —अमेरिकाको भर्जिनियास्थित म्यानेसस पार्कमा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला परेका हुन् । मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन् ।

म्यानेसस पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेका थिए । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तलामा प्रवेश गर्दा चार जना व्यक्तिलाई मृत अवस्थामा फेला परेको हो ।
उनीहरू सबैको मृत्यु गोली लागेका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलबाट एकवटा बन्दुक पनि बरामद गरिएको छ ।


सवै शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको प्रहरी विभागले जनाएको छ । प्रहरीका अनुसार यो घटना हत्या होकी आत्महत्या हो भनेर अनुसन्धान भइरहेको छ ।
छिमेकीहरूले एनबीसी वासिङ्टन (न्युज४) लाई जानकारी दिएअनुसार, पीडित परिवार नेपालबाट आएका थिए र उनीहरू छ महिनाअघि मात्र यो क्षेत्रमा सरेका थिए।
हालसम्म घटनामा कसले गोली चलाएको हो भन्नेबारे प्रहरी विभागले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
मनासस पार्क, भर्जिनियाको उत्तरी क्षेत्रमा पर्ने स्वतन्त्र शहर हो, जुन वासिङ्टन, डी.सी. बाट लगभग ३० माइल दक्षिणपश्चिममा र प्रिन्स विलियम काउन्टीको बीचमा अवस्थित छ।