काठमाण्डौँ— ताप्लेजुङको प्रसिद्ध धार्मिक र सांस्कृतिकस्थल पाथीभराको मौलिकता र पहिचान जोगाउन सरोकारवालाहरूले चासो व्यक्त गरेका छन्।
युमा माङ मुक्कुम्लुङ पाथीभरा संरक्षण समन्वय समितिद्वारा आयोजित अन्तरक्रियामा भौतिक विकासका नाममा पाथीभराको धार्मिक, सांस्कृतिक र मौलिक पहिचान मेटाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाइएको छ। सरोकारवालाहरूले पाथीभरालाई केवल एक निश्चित भूगोलमा सीमित गर्न नहुने र यो सम्पूर्ण सनातन धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल भएको बताएको छ।
मुक्कुम्लुङ संरक्षण अभियन्ता चन्द्रहाङ किरातले पाथीभराका पुजारी र मन्दिर व्यवस्थापन समितिलाई चुप लाग्न बाध्य बनाइएको आरोप लगाउँदै, धार्मिक सम्पदाको संरक्षणका लागि सशक्त समूहको आवश्यकता रहेको धारणा राखे।
धार्मिक अनुसन्धानकर्ता भीम पाण्डेले पाथीभरासँगै नेपालका अन्य धार्मिक, सांस्कृतिक सम्पदालाई बचाउन सामूहिक प्रयास आवश्यक रहेको बताए। छिमेकी देश भारतको केदारनाथ र कैलाश मानसरोवरमा केबलकार जस्तो विकास परियोजना सञ्चालन नगरिएको उदाहरण दिँदै, नेपालका पूर्वीय दर्शन र सभ्यतामा आक्रमण गर्ने प्रयास भइरहेको सहभागीहरूले बताए।
वाग्मती प्रदेशका पूर्वप्रदेशसभा सदस्य जीवन डङ्गोलले धार्मिकस्थलहरूमा भइरहेको अतिक्रमणप्रति चिन्ता व्यक्त गरे। विश्व हिन्दू युवा सङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाहले पाथीभरामा प्रस्तावित केबलकार योजना खारेज गर्न माग गर्दै मौलिकता जोगाउन आग्रह गरे।
हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले पाथीभरा लगायत देशभरका धार्मिक र सांस्कृतिकस्थलहरूको संरक्षणका लागि जनस्तरबाट जागरुकता आवश्यक रहेकोमा जोड दिए।
उक्त अन्तरक्रियाले पाथीभरा क्षेत्रको संरक्षण, धार्मिक महत्व र ऐतिहासिक सम्पदाको पहिचान जोगाउन ठोस कदम उठाउनुपर्ने आवश्यकता औंल्याएको छ।



















