जनकपुर / बालक अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका २ जना भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ। सो क्रममा दुई जना घाइते भएका छन्। 

बच्चा अपहरण गरी हत्यामा संलग्न भएको आरोपमा पक्राउ गर्न खोज्दा प्रदेश २ प्रहरी कार्यालयको टोलीले गोली चलाएको थियो। सो घटनामा संलग्न सिकिन्दर र विकास शर्माको घुँडामा गोली लागेको छ। उनीहरुसहित रामदिनेश महतो पनि प्रहरी नियन्त्रणमा छन्। घाइतेहरुको अस्पतालमा उपचार हुँदैछ।

वीरगन्जस्थित प्रगतिनगर बस्ने शम्भु शाहका छोरा ८ वर्षीय करनको अपहरणपछि हत्या भएको थियो। शाह कवाडखाना सञ्चालन गर्दै आइरहेका छन्। शाहसँगको रिसइबीका कारण विकास शर्माको समूहले बालकको अपहरणपछि हत्या गरेको अनुमान प्रहरीको छ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी हरिबहादुर पालका अनुसार जेठ १० गते वीरगन्जको घन्टाघरबाट करनको अपहरण भएको थियो। अपहरणपछि बालकलाई बाराको कलैयास्थित खत्तरटाका नजिक रहेको एक झुपडीमा लगेर बन्धक बनाएको ३ घन्टापछि  अपहरणकारीले घाँटी थिचेर हत्या गरेका थिए। 

हत्या गर्नुपूर्व करनको भ्वाइस रेकर्ड गरेर केही दिनदेखि बुबा शम्भुसँग अपहरणकारीले फिरौती माग्दै आएका थिए। 

अपहरणकारीले घन्टाघरबाट बालकलाई टेम्पोमा राखेर अपहरण गरेको प्रहरीको भनाइ छ। शम्भुसँग सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेका उनीहरुसँग ५ लाख रुपैयाँमा कुरा मिलेको थियो।

प्रहरीले बालकको शव फेला पारिसकेको छ। थप अनुसन्धान भइरहेको डिआइजी पालले जानकारी दिए।