सिन्धुपाल्चोक—सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आएको भूकम्पले भोटेकोशी गाउँपालिकामा पहिरो गएको छ भने कोदारीस्थित इलाका प्रहरी कार्यालयमा सामान्य क्षति पुगेको छ। 

शुक्रबार  विहान २ः५१ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले कोदारीस्थित प्रहरी चौकीमा सामान्य क्षति पुगेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। थप विवरण आउने क्रम जारी रहेको उनले बताए। 

यस्तै, जिल्ला कारागार सिन्धुपाल्चोकमा हामफालेर भाग्ने क्रममा एक जना कैदी घाइते भएको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले जानकारी दिए। 

भूकम्पले भोटेकोशी वडा नम्बर ३  स्थित दुगुनागढीमा पहिरो गएको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ  नुर्पु शेर्पाले जानकारी दिए। 

यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका छन् ।