- मणिराम दाहाल
विराटचोक—सुन्दरहरैँचाका लेखक तथा भिडियो इडिटिङकार दुर्गा खरेलको ‘विश्वमानव’ निबन्धसङ्ग्रहको प्रगतिशील लेखक सङ्घ माेरङद्वारा आयाेजित कार्यक्रममा लोकार्पण गरिएको छ ।
सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा प्रगतिशील लेखक संघ माेरङकाे ११ औ जिल्ला अधिवेशन तथा विश्वमानव निबन्ध सङ्ग्रहकाे विमाेचन र याङरुप उपन्यासकाे परिचर्चा कार्यक्रम समेत भएको हाे । कार्यक्रम प्रगतिशील लेखक सङ्घ नेपाल कोसी प्रदेश अध्यक्ष तिला लेकालीकाे प्रमुख अतिथिमा भएको थियाे ।
कार्यक्रममा 'विश्वमानव' निबन्ध सङ्ग्रहको कृति समिक्षा लेखक तथा पत्रकार केशु विरही लगायतले समीक्षा गरेका थिए । विरहीले कृतिमाथिको समीक्षा प्रस्तुत गर्दै विविध विषयमा लेखिएकाे खरेलका निबन्ध पठनयोग्य रहेकाे बताए । उनले भने `` संसारभरि छरिएर रहेका मानिसमा मानवताका साथै भाइचाराको विकास गर्न ‘विश्वमानव’ ले सहयोगी भूमिका निर्वाह गर्ने आशा गरिएको छ ।"
उक्त कार्यक्रममा प्रलेस नेपाल कोसी प्रदेश सचिव राजेन्द्र सर्वहारा, मोरङ जिल्लाका पूर्व अध्यक्षहरू गोपाल निर्भिक, भानु भण्डारी, अमृतप्रसाद आचार्य (आचार्य अ.), सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, बेलबारीका अग्रज स्रष्टा ईरान राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली विभागका विभागीय प्रमुख भाषाविद् तथा समीक्षक डा. दीपकप्रसाद न्यौपाने, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभागका सदस्य रामप्रसाद खरेल, मुक्तककार नवराज पोखरेल ‘नवशिला’, जेफाले सिर्जना डबलीका युवराज ठकुरी लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव धनजीत पराजुलीले गरेका थिए ।
कार्यक्रमकाे अवसरमा प्रलेस नेपाल मोरङ शाखाको एघारौँ जिल्ला अधिवेशन भएको थियाे ।
सुसेलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन
एघारौँ जिल्ला अधिवेशनले यज्ञराज सुवेदी सुसेलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिवमा नानुमैया दाहाल, सहसचिवमा भवानीप्रसाद पोखरेल, कोषाध्यक्षमा शैलेव घिमिरे शैलेन्दु निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा सञ्जीव तिम्सिना, भीम कोइराला, उमा गुरागाईँ, शारदा दाहाल, यज्ञ परिश्रमी, दुर्गाप्रसाद खरेल, अञ्जलि कठेत, शान्ता कर्ण चयन भएका छन् ।




















