चितवन — नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको सूचना बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अपमानजनक सामग्री प्रकाशित भएको विषयलाई लिएर मंगलबार कार्यालय प्रमुख रामु श्रेष्ठमाथि हातपात भएको छ।


सोमबार प्रधानमन्त्रीविरूद्ध गालीगलौजपूर्ण सामग्री सूचना बोर्डमा देखिएको थियो। सोही घटनालाई लिएर मंगलबार बिहान करिब १० बजे ३५–४० जनाको समूहले कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरी तोडफोड गर्नुका साथै उनलाई कुटपिट गरेका हुन्।
घटनापछि प्रहरीले कुटपिटमा संलग्न समूहको पहिचान गर्न नसकेको जनाएको छ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले यो घटनाप्रति कडा भर्त्सना गर्दै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “देशको गरिमामय पदमा रहनु भएका सम्माननीय प्रधानमन्त्रीविरुद्ध अवैध र अपमानजनक सामग्री सार्वजनिक गर्नु राज्यको संविधान र कानुनको उल्लङ्घन हो। यस्तो गैरकानुनी कार्यप्रति वितरण केन्द्र परिवार घोर भर्त्सना गर्दछ।”
घटना साइबर अपराधअन्तर्गत परेको भन्दै वितरण केन्द्रले सम्बन्धित निकायसँग कानुनी प्रक्रिया अघि बढाउन पत्राचार गरिरहेको जानकारी दिएको छ।
वितरण केन्द्रले सार्वजनिक सेवा प्रवाहमा संलग्न कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति माग गर्दै, घटनामा संलग्नहरूलाई कानुनबमोजिम कडा सजाय दिन आग्रह गरेको छ।
“यस प्रकारका घटनाले कर्मचारीको मनोबलमा गम्भीर असर पार्ने भएकाले दोषीमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
घटनामा संलग्न समूह र घटनाको पृष्ठभूमिको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।